ऊर्जासङ्कट र युवा अभियान

यसपालि बढो गज्जबको एकता देखिएको छ। चालक र बटुवाबीचमा, सवारीसाधन हुने र नहुनेबीचमा। समग्रमा नेपालीबीचमा। भलै यो राम्रो सुरुवात काठमाडौंमा मात्रै र तेल अभावले भएको किन नहोस्। यो सहयोगको भावना अत्यन्त सुन्दर छ। बिगतमा जेसिजलगायत लोककल्याणकारी संघसंस्थाको अथक प्रयासका बाबजुद लिफ्ट दिने र माग्ने अभियान सफल हुन सकेको थिएन। आज अभावमा अंकुरण भएको सहयोग र सद्भाव भावना भोलि राम्रा दिनहरुमा अझ उचाइ लिने विश्वास लिन सकिन्छ।
एक सामान्य नेपाली बिहान गएर पेट्रोलको लाइनमा बस्छ। दिन ढल्न लाग्दा पालो आउँछ। तीन लिटर भर्न पाउँदा ठूलो युद्ध जितेसरी घर फिर्छ। घाममा घण्टौं कुरेर बस पाउँदा, चढ्न मात्रै पाउँदा भलै गुन्द्रुक झैं कोचिन किन नपरोस् अर्को नेपालीलाई दशैं नै आएको भान हुन्छ। घरमा चुलो बलिराख्दा सम्म कुनै समस्या नै नभएको मीठो भ्रममा जिउने बानी नै हामीलाई परेको छ।
यी यस्ता सशक्त उदाहरण हुन् जसले आजका दिनमा नेपालीका चाहना पूर्ति गर्न असंम्भव छ भन्ने राजनीतिक नेतृत्वलाई गतिलो झापड दिन्छ। हुन त कमि राजनीतिक नेतृत्वमा मात्र छैन हामीमा पनि छ।
छिमेकलाई गाली गर्दा दरो राष्ट्रवादी ठहरिने मिथ्यामा हामी जिउँछौं। गालीका गोली ओकल्छौं, जसले धुँवाधार गाली गर्छ यो पो नेता यस्ता मान्छे पो हामीलाई चाहिएको भनेर चियागफ गर्छौं। सामाजिक सञ्जालका भित्ता पुरै रङ्गाउँछौं।

यस्तै हाम्रा कैयन् कार्यले धेरै युवालाई आफ्नै देशमा कुनै भविश्य नदेखिने बनाएको छ। सुझबुझ र दीगो विकासका एजेण्डा भन्दा गाली ओकल्नेका बोलवालाले नै देश अँध्यारोमा धकेलिदैछ। मुस्ताङका स्याउ, डोल्पा, खप्तडका रमणीय छटाहरुलाई प्रचार गरी आर्थिकोपार्जन गर्नुभन्दा युवाहरुलाई खाडीका उदेकलाग्दो गर्मीमा आफ्नो संभावना देख्न बाध्य बनाएको छ। जहाँ न जातका कुरा उठ्छन् न धर्म वा पहिचानको। उता नेपाली भनेर चिनाउँदा दङ्ग पर्ने युवाका बुबा हजुरबुबाहरु यहाँ सीमाका कुरामा लड्दैछन्। उता एउटै थालमा खाइरहेका नेपालीहरुका बुबाहरु यहाँ मधेसी अनि पहाडी छन् र एकअर्कालाई बैरी देख्छन्।
दीगोरुपमा इन्धनका सवालहरुका जवाफ खोज्नु भन्दा क्षणिकरुपमा अभाव व्यवस्थापन गरेर के के नै गरँे भन्ने अनि जस लिन खोज्ने नेतृत्वले पाँच वर्षपछिको नेपालको खाका आज कोर्न जरुरी छ। स्थायित्व र विकासका सपना नेपाली युवाले कहिले देख्नै नपाउने? बाटामा गाडी नपाएर पैदल हिंड्न बाध्यहरुले मेट्रोमा हुइकिएको अनुभव आफ्नो जीवनकालमा गर्नै नहुने? यी अधिकारका प्रश्न हुन् कि होइनन्? हुन् भने जवाफ खोज्न ढिलो भएन र?
आजका युवाले बढी समय इन्टरनेट अनि सूचना प्रविधिका साधनमै गुजार्दछ। नवीन सोंच अनि विश्वले अवलम्बन गरिरहेको विकासका अनेक आयामबारे अभ्यस्त हुन्छ। यस किसिमको कुनै सङ्केत आफ्नो स्थानमा नपाउँदा अलिक निरास पनि हुन्छ। र, व्यक्तिगत वा साथीहरुसँग मिलेर गर्नसक्ने कामहरु थाल्दछ। जसको पछिल्लो उदाहरण कारपुलकाठमाडौं, वाकटुगेदरकाठमाडौंजस्ता सामाजिक सञ्जालका अभियान हुन् जसका कारण लिफ्ट माग्ने, दिने वा सँगै हिँड्ने अभियान व्यावहारिकरुपमै सफल भएका छन्। यसलाई म राष्ट्रवाद ठान्दछु जसले सही अर्थमा अप्ठ्यारोमा परेकालाई सक्दो राहत दिएको छ।
यसै सन्दर्भमा केही समयअगाडि एक भातृ सङ्गठनका युवालाई तातोपानीको नाका खुलाउन साबेल र बेल्चाका साथ पठाइएको प्रसङ्ग उल्लेख गर्न चाहन्छु। उक्त नाकाको बडेमान ढुङ्गा पन्छाउन बेल्चाले सक्ने भए उक्त स्थानका स्थानीय चुप लागेर किन बस्थे? डोजरको प्रयोगले खुलेको यस सडकलाई सस्तो लोकप्रियताका लागि भ्रामक खबर बाँड्ने काम बन्द हुनपर्छ र ती गुमनाम ब्यक्तिहरु जसले आफ्नो स्थानबाट सक्दो गरिरहेका छन् तिनलाई सम्मान हुन जरुरी छ।
राजनीतिक नेतृत्व अझ सरकारकै नेतृत्वले बैकल्पिक ऊर्जा प्रबर्द्धनका लागि के कस्तो उपाय अवलम्बन गर्ने हो? सो प्रस्ट हुन र पार्न अपरिहार्य छ। ऊर्जा सङ्कट हुँदा यति परिमाणमा यसले पाउने भनेर बनाउने तालिकासँगै बैकल्पिक ऊर्जा कसरी घरमा प्रयोगमा ल्याउने पनि विचार होस्। युरोपका चिसा ठाउँहरु जहाँ घामको बिरलै दर्शन हुन्छ, ती ठाउँमा प्रत्येक घरले सोलार प्यानल राखेका छन्। बिहानको उज्यालोमै चार्ज पुग्ने हाम्रा ठाउँहरुमा सोलार प्रविधिको जडानलाई प्राथमिकतामा राखियोस्। काठमाडौंबाहिर बत्ती बाल्न मात्र प्रयोग भएको यस ऊर्जालाई काठमाडौंलगायत ठूला सहरहरुमा राष्ट्रिय प्रसारणमै जोड्ने गरी अनुदान दिन सकिन्छ। काठमाडौंको सामान्य परिवारले इन्भर्टर वा जेनेरेटरका लागि १५ देखि २० हजार खर्च गरिरहेकै छ।
सङ्कटका समयमा धैर्य र सहयोग नै अचुक विधि हो। सहयोगले हालको समस्यालाई केही हदसम्म सम्बोधन हुन्छ र नयाँ प्रविधिको विकासले बाँकी। यसका लागि नवीन सोचसाथ युवाले आफ्नो स्थानबाट सुरु गरेका अभियानलाई राष्ट्रियकरण गर्न सकिन्छ। उदाहरणका लागि बढी इन्धन खपत स्कुल कलेजका विद्यार्थीलाई बोक्ने बाहनका कारण पनि हुनेगर्छ। रमाइलो कुरो के छ भने बुढानिलकण्ठ बस्ने अभिभावकलाई आफ्नो सन्तान जाउलाखेलको सेन्टजेभियर्स र पाटनढोकाको रातोबङ्गलामा पढाउने इच्छा हुन्छ र जाउलाखेलतिरका अभिभावकलाई बुढानिलकण्ठ, मन्डीखाटारमा भएको काष्ठमण्डप वा भक्तपुरमा भएको गुरुकुलमा। यस्तो इच्छा पनि ऊर्जासङ्कटको प्रमुख कारक भएकाले अभिभावक आफैं सजग भई नजिकको राम्रो स्कुलमा आफ्ना सन्तान भर्ना गर्दा बेस हुन्छ।
सेताेपाटीमा प्रकाशित