के गरे पर्यटन प्रबर्द्धन होला?

झोंछेमा साठीको दशकमा ढोका ढक्ढकाई सेवा माग्ने पर्यटकलाई सेवा दिने व्यवसायीमा आज यस क्षेत्रलाई अघि बढाउने सामर्थ्य मात्र छैन, विकास गर्ने कार्यदिशा पनि छ। बिगतमा केही व्यक्ति र समुदायको अग्रसरतामा चलेको यस उद्योगमा हाल पचहत्तरै जिल्लाका र समग्र जातजातिको प्रतिनिधित्व छ।
 
प्रबर्द्धन र बजारिकरण यस उद्योगको जीवनरक्त हुन्।
 
बन्दमा हरियो गाडी बेरोकतोक आवतजावत हुन्छ। बन्द वा आन्दोलन आयोजकमा पनि हरियो नम्बर प्लेटको गाडी र पर्यटकलाई अप्ठ्यारो पार्न हुँदैंन भन्ने चेतनाको विकास भएको छ।
 
यस्तै नेपाली सेवाभावले जस्तो अवस्थामा पनि नेपाल आउन प्रेरित गरिरहेको छ। उनीहरुको देशले अति आवश्यकीयबाहेक अन्य अवस्थामा नेपाल नजान भन्दाभन्दै पनि नेपाल आउन लालायित हुन्छन्। यस्तो सामीप्यता सबै देशले अन्य देशका नागरिकमा बनाउन सक्दैन।
 
जापानीको हाम्रो देशसँग विशेष लगाव छ। बीस/पच्चीस पटक नेपाल आइसकेका जापानी धेरै भेटिन्छन्। कोही त सयौं पटक आएका पनि।
 
भर्खरै गएको भुइँचालोले हामीलाई जति अत्यायो त्यति नै सहयोगका लागि जुटेका अन्तर्राष्ट्रिय हातहरुले हौसाए। योे विभिन्न समयमा ती दयालु अन्तर्राष्ट्रिय समुदायलाई यो देशले र नागरिकले पारेको प्रभाव, माया र आत्मीयताको फल हो। पाहुना भएर आएकालाई मित्र बनाएर पठाउन नेपाल सक्षम छ।
 
नेपालमा संसारमा बिरलै पाइने हावापानी, ठूला, गहिरा, लामा अनेकन विशेषतायुक्त पर्यटकीय थलो छन्। नेपालीलाई गोर्खाली र शेर्पाका देश भनेर चिन्छन्। हाम्रा बहादुरीका कथा स्मरण गर्दै अझै नेपालीलाई माया गर्छन्।
 
पर्यटन शान्ति र स्थायित्वमा सप्रने र झ्याङ्गिन्छ। दश वर्षे जनयुद्धमा पनि पर्यटक नै लक्षित गरी कुनै किसिमको ठूलो घटना भएन। भलै उनीहरुसँग चन्दा उठाइएका घटना थिए।
 
अहिले देशले संविधान पाएको छ। यसले उद्योगलाई थप राम्रो गर्नेछ। थलिएको पर्यटन उद्योगमा भर्खर रक्तसञ्चार सुरु हुन थालेको छ।
 
पर्यटन र अन्य उद्योगबीचका फरक कैयन् छन्। सकिएर जाने र आज खपत नभए व्यापार गर्ने मौका सकिने यसका मुख्य विशेषता हुन्। जस्तो मछिन्द्रनाथको भोटोजात्राका लागि आउन तयार भएका पर्यटकलाई जाउलाखेल पुर्‍याउन नसक्ने हो भने अन्य कुनै उपजले अर्थ राख्दैन। भोटोजात्राका दिन छुट्यो भने अन्य दिनले इच्छापूर्ति गर्न सक्दैन। प्रत्येक दिन होटलमा पर्यटकले बास बसेनन् भने सो दिनको ब्यापार हुँदैन।
 
बन्दमा आफ्नो कार्यक्रम प्रभावित भएका पर्यटकहरुले नराम्रो अनुभव सँगै लान्छन् र मित्रहरुलाई सोहीअनुसार अनुभव साट्छन्। नेपालको पर्यटन उद्योग आफन्त र मित्रहरुले भनेको सल्लाहको भरमा देश आउने पर्यटकका कारण चलेको हो। उनीहरुका अनुभव नराम्रो हुँदा देश आउने पर्यटकका संख्यामा सोझै असर गर्दछ।
 
आजको पर्यटन क्षेत्रको वास्तविकता
 
१. नेपालका मुख्य पर्यटकीय क्षेत्रहरु काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण क्षेत्र, सगरमाथा क्षेत्रमा पर्यटनसँग सम्बन्धित क्रियाकलाप नियमित भइरहेको छ। लाङटाङ क्षेत्र पनि आंशिकरुपमा खुलिसकेको छ। भुकम्पपश्चात् आएका पर्यटकहरुले सोचेभन्दा नेपालको अवस्था निकै नै राम्रो पाएको बताएका छन्।
 
२. देशका विभिन्न गाउँहरुमा घरबास कार्यक्रम सञ्चालन भइसकेको र कैयन्मा बन्दै वा घरहरु थपिइरहेका छन्।
 
३. विद्यमान इन्धनसङ्कटको अवस्थामा पर्यटन र पर्यटकीय गतिविधि चलिरहेको छ। यसलाई सहज बनाउन हिँडाइ, घरबास कार्यक्रममा व्यापकता ल्याउन पर्छ जसले गर्दा इन्धन सञ्चयलाई सहज हुृन्छ।
 
४. छिमेकी मुलुकबाहेक बाह्य पर्यटकले भ्रमण कार्यक्रम कम्तिमा ६ महिनाअगावै तय गर्ने हुँदा आजको दिनमा गरिने प्रबर्द्धनले आगामी सिजनलाई प्रभावित गर्छ। यसलाई सुचारु गर्नु आजको आवश्यकता हो।
 
५. नयाँ क्षेत्रहरुमा पर्यटन बिस्तार गर्न पनि स्थापित क्षेत्रहरुले लाभका अंश बढी पाउनुपर्ने, नयाँ व्यक्तिहरु पर्यटनमा लाग्नसक्ने अवस्थाको सिर्जना हुन आवश्यक छ। यस्तो अवस्था निर्माण प्रभावकारी बजारिकरण र प्रबर्द्धनबाट मात्र संभव छ।
 
संविधान निर्माणपछि देखिएको नेपाल भ्रमण गर्ने माहौलमा भएको सकारात्मक परिवर्तनसमेतलाई ध्यान दिंदा अन्तर्राष्ट्रिय र तथा राष्ट्रिय बजारमा नेपाली पर्यटनको बजारिकरण र प्रबर्द्धन हुनु अपरिहार्य छ।

सेताेपाटीमा प्रकाशित