सडकको कथा




रत्नपार्क लगनखेल रुटमा चल्ने माइक्रोबस ।

“भाई कार्ड छ” ।

“यत्रो ठूलो पेट लागेको मान्छे पनि विद्यार्थी हुन्छ ” ?

ठ्याम्म एक गाला दिऊँ जस्तो भईसकेको थियो, आफैलाई सम्हाले । रिस त्यो सिल्लीले विद्यार्थी जस्तो देखिएन भनेकामा हैन कि बडेमान पेट छ भनेर गिज्याएकामा उठेको थियो ।

एक त औंसीपूर्णेमा गाडी चढ्नु छ त्यसमाथि जाबो खलाँसीले समेत उडायो बा । म पनि के कम रिसको झोकमा पुरै पैसा तिरिदिएँ ।

छेउमा बसेको अल्लारे केटो चाहिँ फोनमा गफ हान्दैथ्यो । गाडी कुपन्डोल पुगेको थिएन पूल्चोक आइसकेको भन्दियो । मोबाइलमा ढाँट्न बडा सजिलो । जहाँ छु भन्दिए नि भइगयो नि ।

छङछङ चुरा बजाउँदै एक महिला प्रवेश गरिन् माइक्रोमा, उमेर हुँदो हो ४० तिरको । यो तीजले पनि गर्नुग¥यो । रातो रङ कै एलर्जी होला जस्तो भइसकेको थियो । उनलाई बस्ने सिट थिएन । कसैले सिट पो छोडिहाल्छ कि भन्ने भावमा यता उता हेरिन्, मैले देखे नदेखेको गर्दैथिएँ, छेउको केटोको उत्रिने ठाऊँ नजिकिएकाले उठि पो हाल्यो र ती महिला मेरै बगलमा बस्न आइन् ।

म भए त छाड्ने थिइन सिट । ती महिला भन्दा पनि उमेरका पाका दाई अलिक पर उभिएका छन् अनि यिनलाई आउने बित्तिकै सिट !

ड्राइभरले फेरि गाडीमा तीज कै गीत बजायो । उसै त रातो रङ, अनि तीजका गीतले वाक्क भएको म, अहिलेको गीतले त झन् तिरिमिरि बनायो ।

“कि गीत बन्द गर नभए म उत्रन्छु ” ।

उत्रे घाटा त मलाई नै थियो, भाडा जो दिइसकेको थिएँ । म उत्रे । ती महिलाले पनि बजाइ राख्न भनिन् अनि त ड्राइभर मेरा कुरालाई किन टेरपुच्छर लाउँथ्यो ।

आफ्नो मोबाइलका गीत सुन्न थाले । अनारकली डिस्को चली । बल्ल त्यो तीजका बेफ्वाँकको गीत भन्दा राम्रो गीत सुन्न पाइयो । आनन्द लाग्न थाल्यो । अघिको आन्दोलित मन ठन्डा भयो ।

“हलो म तपाइँका बारेमा कुनै अड्कल गरौँ ” ?

एउटा मान्छे अगाडि ठोक्किन पो आयो बा । म यसलाई त चिन्दिन नि । झण्डै मेरै उमेरको केटो । तीन दशक तिर उमेरले टेकेको त्यस मान्छेलाई मैले कतै चिनेको त छैन नि ! म घोत्लिएँ । अहँ छैन ।अनि नचिनेको मान्छेको बारेमा यसले किन अड्कल गर्नुपर्ने !

“तपाइँका घरमा अहिले श्रीमति छैनन् तिनी माइत गएकी छन् । मैले सही भने हैन ”?

“महाशय तपार्इँ धेरै जान्ने नहूनुस् त ! मेरा घरमा श्रीमति छिन् र मलाई कु्री रहेकी छिन् ” ।

“तपार्इँ ढाँट्दै हुनुहुन्छ । घरमा श्रीमति भएको मान्छे यसरी गाना सुनेर मख्ख हुँदैं हिँड्न सक्दैन । तनावमा घर पुग्ने चटारोमा हुन्छ ” ।

“आज त तीजको अघिल्लो दिन । प्रायका श्रीमति माइत गएका हुन्छन् । यति भेऊ त सबैले पाउँछ नि ” । मैले जवाफ फर्काएँ ।

“तपार्इँको कुरोमा आंशिक सत्यता छ तर पूर्ण होइन । उ परबाट आउँदैं गरेको ब्यक्तिको घरमा श्रीमति छिन् सोध्ने हो यसलाई ” ?

ऊ पर गएर म जस्तै त्यस ब्यक्तिलाई पनि सोध्यो । म अलि पर बसेर हेरिरहेँ ।

“मैले भनेको सही भयो । तिनको श्रीमति घर मै छिन् ”।

मलाई डर पो लाग्न थाल्यो । यो खुस्केट त होइन । म उत्तर नदिई छिटो छिटो अगाडि बढेँ ।

घरमा श्रीमति हुनु र नहुनुले यति फरक पार्छ र?

म गीत सुन्दै आफ्नो गन्तब्य तीर हानिएँ ।


समाप्त




वधाई छ २ हजार पटक ब्लग हेरिएछ


आज यो ब्लगले २ हजार पटक हेरिने मौका पायो । वधाई समस्त साथीहरुलाई जसले एक पटक भए पनि हेर्नुभयो, राय सल्लाह सुझाव दिनुभयो र ब्लगलाई कमेन्ट गरिदिनुभयो । २ हजारको संख्यामा हेरिएपछि २० हजारको लक्ष्य पनि भेटिने आशा पलाएको छ । हेर्दै गर्नुहोला ।