दशैं छुट्टीमा कहाँ जाने?

तेल छैन। घर जान सकिएन। दशैं बेहाल भयो भनेर हामी मध्ये धेरै खुइय गरिरहेका होलाउँ। आफ्नो घरमा पुगेर आफन्तजन साथीभाइ भेटेर समय गुजार्नुको मज्जा त अरु केहीले त नदेला तर केही हिडेंर वा साइकलयात्रा गरेर रमाइलो गर्दा बिदाको सदुपयोग पनि हुने र विभिन्न स्थानका विशेषताहरु आफ्नै आँखाले देख्न पनि पाइन्छ। 
 
यो समयमा पर्यटकीय मौसम पनि परेको हुँदा प्रचलित स्थानहरुमा घुँइचो हुने अनि छोटो समयमा तय गरेर हिंड्दा खाना र बासको समस्या पनि पर्ने हुन्छ। नेपालका हरेक कुनाहरु, पहाडहरु र समतल स्थानहरु आफैमा राम्रा गन्तब्य हुन् त्यसकारणले ती मध्ये केही छान्नु भनेको निश्चय नै कठिन कार्य हो। 
 
तल उल्लेख गर्न लागिएको ५ रुटहरु काठमाडाैँबाट साइकलयात्रा र हाइकिङ्ग गर्न उचित हुने स्थानहरु हुन्।
 
१. काठमाडाैँ–ककनी साइकलयात्रा
 
साइकलयात्रा सम्पूर्ण शरिरको ब्यायाम गराउने राम्रो उपाय हो। यस मौसममा साइकलयात्राको मज्जा नै बेग्लै हुन्छ। बिहानबेलुका काठमाडाैँ चिसिन थालिसकेको अवस्थामा पसिना निकाल्ने र गर्न रमाइलो हुने ब्यायामका रुपमा साइकलयात्रालाई लिन सकिन्छ। 
 
३० किमी दुरीको यस यात्रामा चित्तआकर्षक हिमाली दृश्य देख्न सकिन्छ। काठमाडाैँ नजिकमा काँठे संस्कृतिको अवलोकनका लागि यो उपर्युक्त छ। मुड्खु भञ्ज्याङ्ग, तीनपिप्ले, ओखरपौवा, काउलेखाना र ककनीका गाउँहरुमा यात्राको थकान मेटिने गाउँले परिवेशको हावापानी पाउन सकिन्छ। ककनीबाट गणेश हिमालदेखि अन्नपूर्ण र धौलागिरि हिमश्रृंखला छर्लङ्गै देखिन्छ। 
 
२. मुहानपोखरी–सुन्दरीजल हाइकिङ्ग
 
काठमाडाैँको नजिकको राष्ट्रिय निकुञ्ज शिवपुरी हो। शितल हावा अनि काठमाडाैँ खाल्डोको दृश्य यहाँबाट जतिको राम्रो सायदै अन्य ठाउँमा सम्भव होला। बागमतीलाई अझै सफा सुन्दरीजलमा बगेको देख्न पाइने यस हाइकिङ्गको कूल दुरी १२ किमीको हो। सुन्दरीजल पुगेर पानीका मुहान, रमणिय दृश्य, ग्रामिण परिवेश अनुभव गर्न सकिन्छ। बिस्तारै हिंड्दा पुरै १ दिनको यात्रा सहजरुपमा गर्न सकिन्छ। 
 
३. खहरेखोला–चम्पादेवी–कीर्तिपुर हाइकिङ्ग
 
राजधानी शहरमा अनेक संस्कृति र संस्कारहरु देख्न सकिन्छ। कीर्तिपुर आफैंमा विशिक्ष्ट स्थान हो। नेवारी संस्कृति बोकेको ऐतिहासिक स्थानका रुपमा कीर्तिपुरको सम्झना हुने गर्दछ। यसको उच्च पहाड चम्पादेवी हो। कीर्तिपुरबाटै छिचोलेर पुगेर फर्किन सकिन्छ चम्पादेवी। खहरेबाट चढ्दा नयाँ बाटो पनि तय हुन्छ। २ घण्टा उकालो लागेर काठमाडाैँको सुन्दर दृश्य यहाँबाट देखिन्छ। सफा दिनमा सगरमाथा पनि यहाँबाट देख्न सकिनेछ। माथि टुप्पामा चम्पादेवीको मन्दिर। 
 
४. सुन्दरीजल–चिसापानी साइकलयात्रा
 
यो रुटमा हिडाई पनि उत्तिकै रमाइलो हुन्छ। विशेषत साइकलयात्रा भनिएको धेरै मोडहरुको रोमाञ्चकताका कारण हो। काभ्रे र नुवाकोटको सिमाना चिसापानी झुले हुँदै सुन्दरीजलबाट पुग्दा एक कोर्स नै सकेको अनुभूति हुन्छ। खोलाका बीचबाट हुइकिने अनि लाङ्गटाङ्ग, गौरिशङ्कर, दोर्जेलाक्पा जस्ता हिमाल हेर्ने मौका यही यात्रामा जुर्छ। विशेषत गोसाइकुण्ड जानेबाटाका रुपमा पनि यो प्रचलित छ। साइकलयात्राका लागि छुटाउनै नहुने रुटमध्येमा यो पर्दछ। 
 
५.नगरकोट–नाला हाइकिङ्ग
 
धुपीको जङ्गलमा आफ्नो चालको आवाज सुन्दै हिड्न यस रुटमा पाइन्छ। १० किमी यात्राका धेरै खण्डमा जङ्गल अनि साना गाउँहरु र अनेकन मोडहरु। नगरकोट हिडेर पुग्न यस रुटलाई प्रयोग गरिए पनि अब राम्रो हाइकिङ्ग रुटका रुपमा विकास हुदैछ। सुन्दर नगरी भक्तपुरको सेरोफेरामा यो यात्रा गर्न सकिन्छ। नाला भक्तपुृरका पुराना गाउँहरुमा पर्दछ। नेवारी संस्कृति र पुराना रीतिरिवाजको अनुभव यहाँ गर्न सकिन्छ। 
 
दशैं तिहारको समय दृश्यावलोकनका लागि राम्रो मानिन्छ। खुलेका आकास र सुन्दर हावापानीले यस समयको यात्रा स्मरणीय बनाउन सघाउँछ। बिदाका समयलाई सदुपयोग गरि यात्रामा निस्किदा स्वास्थ्यलाभका साथमा उक्त स्थानका बारेमा नजिकबाट जान्ने मौका मिल्दछ। 

सेताेपाटीमा प्रकाशित