के गरे पर्यटन प्रबर्द्धन होला?

झोंछेमा साठीको दशकमा ढोका ढक्ढकाई सेवा माग्ने पर्यटकलाई सेवा दिने व्यवसायीमा आज यस क्षेत्रलाई अघि बढाउने सामर्थ्य मात्र छैन, विकास गर्ने कार्यदिशा पनि छ। बिगतमा केही व्यक्ति र समुदायको अग्रसरतामा चलेको यस उद्योगमा हाल पचहत्तरै जिल्लाका र समग्र जातजातिको प्रतिनिधित्व छ।
 
प्रबर्द्धन र बजारिकरण यस उद्योगको जीवनरक्त हुन्।
 
बन्दमा हरियो गाडी बेरोकतोक आवतजावत हुन्छ। बन्द वा आन्दोलन आयोजकमा पनि हरियो नम्बर प्लेटको गाडी र पर्यटकलाई अप्ठ्यारो पार्न हुँदैंन भन्ने चेतनाको विकास भएको छ।
 
यस्तै नेपाली सेवाभावले जस्तो अवस्थामा पनि नेपाल आउन प्रेरित गरिरहेको छ। उनीहरुको देशले अति आवश्यकीयबाहेक अन्य अवस्थामा नेपाल नजान भन्दाभन्दै पनि नेपाल आउन लालायित हुन्छन्। यस्तो सामीप्यता सबै देशले अन्य देशका नागरिकमा बनाउन सक्दैन।
 
जापानीको हाम्रो देशसँग विशेष लगाव छ। बीस/पच्चीस पटक नेपाल आइसकेका जापानी धेरै भेटिन्छन्। कोही त सयौं पटक आएका पनि।
 
भर्खरै गएको भुइँचालोले हामीलाई जति अत्यायो त्यति नै सहयोगका लागि जुटेका अन्तर्राष्ट्रिय हातहरुले हौसाए। योे विभिन्न समयमा ती दयालु अन्तर्राष्ट्रिय समुदायलाई यो देशले र नागरिकले पारेको प्रभाव, माया र आत्मीयताको फल हो। पाहुना भएर आएकालाई मित्र बनाएर पठाउन नेपाल सक्षम छ।