मापसे जाँच




अलि अगाडि मापसे हट टपिक थियो । यो जाँचले गर्दा धेरै घरका लोग्नेमानिस समयमा घर पुगे, कति रेस्टुरेन्ट नै बन्द पनि भए रे अनि कतिले जेलमा रात काट्न समेत प¥यो । ट्राफिकमा पनि यस कुरा खैलाबैला भयो, नक्कली बिलबाट पैसा असुल भएको कुरो छापामा आए । जे जति चर्चा परिचर्चा भएपनि राम्रो पाटो भनेको मादक पदार्थ (रक्सी)को सेवन पश्चात सवारी चलाउन हुँदैन भन्ने कुरो धेरैका दिमागमा बस्न सकेको छ । अहिले मैले उठाउन खोजेको प्रसङ्ग अलि फरक यस मानेमा छ कि यसको विषय सवारी चलाउने ब्यक्ति नभई जाँच गर्ने ट्राफिकका बारेमा हो । भर्खरैको साँझ कार्यक्रम पश्चात अबेर राति घर फर्कने क्रममा जाँचमा परियो । आफूले मापसे नगरेको हुँदा मलाई डर केही थिएन तर मलाई सोध्ने ट्राफिकको बोली लरबरिएको थियो, मुखबाट गन्ध पनि आईरहेको थियो । हुन त जोखिम चलाउनेलाई नै हो न कि जाँच गर्नेलाई, तैपनि आफ्नो ड्युटीमा रहेको ट्राफिकले रक्सी खानु त कुनै कुराले पनि क्षम्य छैन त्यतिबेला जब उसले नै अरुले खाएको वा नखाएको जाँच गरिरहेको छ ।