मतगणना दृश्य १

पात्र १
त्यो मत पत्र रामरी देखाउनुस् न तल दोब्रियो । धनुष चिन्हमा अन्तिम कोठामा भोट छ ।

पात्र २
(हा...ई काढ्दै) आँखा दोब्रिएर देखिएन । २ रात भो नसुतेको । यस्तै चाला हो भने भोट गन्न सकिदाँ आफैं चैट हुन बेर छैन । अर्को पात्र अघि बेलुका आउनु पर्ने आएन । त्यसको घरमा मात्र मान्छे विरामी पर्ने हैन होला ।

पात्र ३
यसरी नै गिन्ती चिप्लिएर हाम्रो उम्मेदवारको कम भोट भएको हो । कुनाका कोठा सरहरुको नजरबाट छिप्दो रहेछ ।

पात्र १
के कुरा गर्नुभा? सबै मतपत्र हामी सबैले हेरेकै हो, पाएको मत कराएर पढेकै हो । तेइ कराउँदा स्वर सुकिसक्यो ।

पात्र ३
हैन अघि जस्तै भाको हुनसक्छ, हाम्रो गढ मै कम भोट आयो । जरुर केही भएको छ ।

पात्र २
हैन अघि घुँडा जोडी बसेर सँगै गन्या हैन र? तपाईंले आफैं थुक लगाइ लगाइ मत गनेको हो । बाँकी तपाईँ जान्नुस ।

पात्र ३
सर अघि तपाईले जसरी दोब्रेको देख्नुभएन पक्कै तेस्तै भएको हुनपर्छ । अब सबै दोब्रिएको सिधा बनार फेरि गनम् । नभा हामी बहिस्कार गर्छौं ।

पात्र १
(हा....इ गर्दै) बहिस्कार गर्ने भए म अरु गन्न सक्दिन । ज्यान नै जोखिममा राखेर जागिर खान सकिदैन । ज्यान रहे नै काम हो । जाबो हजार रुप्पेलाई कति गनगन सुन्नु ।

पात्र ३
हो सर यस्तै सोचले हामी पछि परेको । तपाईँले काम रामरी गरे देश उभो लाग्थ्यो नि ।

पात्र २
तिम्रा राम्रा काम नि देखियो । देशाँ यस्ता कार्यकर्ता अनि तिम्रा लाउके नेता हुँदा देश त उभो खै कैले लाग्ला हामी चाँहि उभोँ लाग्छौं बरु ।

(छेउका पास होल्डर)
हैन टाइम कुटाइम के झगडा गरिरा, जसले जिते नि भयो यो गिन्ती सकाम् चाँडै, ग्यास्ट्रिकले बस्नुखानु भा छैन । अहिले रातिको दुई बजिसक्यो ।

पात्र ३
अहँ यो हुन्न पार्टीको हाइकमाण्डको नि यही आदेश छ । अब मत गन्न दिइन्न ।


पात्र १
मनमनै–पलेटी कसेर बस्दा बस्दा जिउ नै अररी सक्यो यसका बाजे अनि यसलाई धाँधली । खाइ न पाइ टोपी लाई भनेको यही होला । २० वर्षमा भको चुनाव भनेर चम्किएर आइयो, नराम्रोसँग फसियो बा । बरु आनन्दसँग घरमा सुतेर बसेको भए जाती हुन्थ्यो नि ।

पात्र २
मनमनै–भत्ताको लोभमा हाकिमलाई भनसुन गरी दिनरात मै बस्छु भनियो अहिले निल्नु न ओकल्नु भो । बरु सन्चो भएन भनेर अघि नै टाप दिएको भए घरको तातो भात खान पाइन्थ्यो । बेलाँ बुद्धी नआए पछि यस्तै हो ।

पात्र ३
ल अब हाललाई स्थगन गरेको सूचना टाँस गरम् । कुरा मिलाएर बसौं ।

पात्र १ पात्र २
लौ अब हामी के भनम्

केही क्षणमा तीनै जना उँघेर घुरेको सुनियो तीन कुनामा ।

समय बिहानकाे ३.३० बजे




























No comments: