काम, माम र नाम

रुपेश ३३ काठमाण्डौं कै स्थानिय हुन् । उनलाई पारिवारिक जमघटमा वा सामाजिक क्रियाकलापमा बिरलै देखिन्छ । भन्छन् मसँग फाल्तु कामका लागि समय नै छैन । साँच्ची नै उनी चौबिसै घण्टा आफ्नो काममा तल्लीन देखिन्छन् । अमेरिकी एक बहुराष्ट्रिय कम्पनीको सफ्टवेयर बनाउने काम, नेपाल कै प्रतिष्ठीत औद्योगिक घरानाको मोबाइल एप्सका प्रोजेक्टहरु सम्पन्न गर्न दिनरात खटिरहेका उनी सहकर्मीहरुसँग छलफल र आइडिया शेयर गर्दैमा समय अपुग भएको बताउँछन् । यता उनका टोलेहरु उनी के गर्छन्, किन घर मै धेरै भेटिन्छन् भनेर थाहापत्तो नपाई बसेका छन् । यिनको प्रगती गर्विलो छ । गाडी आफ्नै कमाइले चढेका छन् । छुट्टी मनाउन बैंकक्, सिङ्गापुर मात्र हैन लण्डनसम्म पनि पुगिसके । अझ महत्वपूर्ण कुरो त उनले खोलेको कम्पनीमा पार्ट टाइमर, प्रोजेक्टका स्टाफ गरी सय कै हाराहारीमा काम गर्दारहेछन् ।

उनी जस्ता धेरै युवाले यहाँ केही गर्न सकिदैंन भने जसरी दिनहुँ विदेशी रहँदा उनले यहींबाट डलर तिरेरै विदेशी समेतलाई काम लगाएका रहेछन् । रुपेशले आइटी क्षेत्रलाई आफ्नो कर्म बनाएको यो छैंठौं वर्ष हो । सुरुका तीन वर्ष अरुका कम्पनीमा काम गरेर पछि आफैं सुरु गरे । वार्षिक राम्रै कमाइ गरिरहेको र राष्ट्रलाई कर उल्लेख्य तिरिरहेको बताउँदा उनको मुहारमा सन्तुष्टी प्रष्ट झल्किन्थ्यो ।



मुकेश ३७ सिरहाको कुरो अलि बेग्लै । चार वर्ष अघि ऋण गरेर खाडी हानिएका उनकै अघिल्तिर सहकर्मी साथीले दुर्घटनामा मेसिनमा च्यापिएर ज्यान गुमाए । साथीको लास बोकेर घर फकिदाँ उनलाई फेरि उही काममा फर्किने जाँगर आएन । केही समय सुस्ताए पछि काभ्रेको साथीसँग मिलेर काभ्रेमा तरकारी खेती सुरु गरे । अहिले त्यो उद्यमलाई अर्गानिक बनाइ कुरिलो, गोलभेडा र अन्य मौसमी तरकारी खेती गरी रहेका मुकेश आफ्नो बिगतको कामभन्दा खुसी र आर्थिक रुपमा पनि राम्रै लाभ गरिरहेका छन् ।

मधेसी परिवेशमा हुर्केका मुकेशले पहाडमा काम गरिराख्दा आफूले कुनै किसिमको विभेद महशुस नगरेको बताउँछन् । अधिकारकर्मी प्राकृतिक न्याय र विभेदका विषयका पहाडलाई छिचोल्नै नसक्ने देखिराख्दा यी प्रतिनिधि पात्र काममा त्यस्तो अप्ठ्यारो नभएको बरु शब्द र अर्थलाई बङ्गयाउने बुज्रुक जमात कै कारण आजको स्थिति आएको अनुभव गर्छन् ।

हुन पनि अहिलेको युवाले समय, काल, परिस्थितिको ज्ञान राखी नविन प्रविधिको प्रयोग गरी काममा फड्को मारेको भेउ पुराना पुस्ताको समझ बाहिरको भइसकेकोछ । नेपाल मै बसेर संसारका अन्य कुनाका मान्छे वा कम्पनीका लागि काम गर्नु, डलरमा राम्रै भुक्तानी लिनु, १०–५ को ठाउँमा आफ्नै समयमा काम गर्नु धेरै युवाको सपना र केहीले यसलाई चरितार्थ गरिरहेका छन् । रुपेश त्यस्तै प्रतिनिधि पात्र हुन् जो आफ्नो काममा सफल भइ लो प्रोफाइलमा बसी रहेका छन् । अनि यस्ता युवाले समाजसेवाका निमित्त केही गरे त गज्जबै हुने हाम्रा सोचका लागि उनका प्रशस्त उत्तर रहेका छन् । भुइचालो लगतै सिन्धुपाल्चोकमा अस्थायी शौचालय निर्माणको अभियान नै चलाएुर सयको हाराहारी बनाएछन् रुपेश र उनका साथीहरुले ।

अनि किन कामका विषयमा र समाजसेवाका विषयमा खुलेर बाहिर नआएको भन्ने प्रश्न झर्न नपाउँदै मुकेश, रुपेश र धेरै युवाको एकै किसिमको मत छ काम नगरी सबथोक गरेसरी जस र गफ अघिल्ला पुस्ताले धेरै गरिसकेकाले चुपचाप गर्नतिर मात्र आफूहरु लागेको । जब स्थानिय सीपलाई प्रविधिको साथ हुन्छ तेसले निश्चय नै सफलता पाउँछ र सहभागिता पनि ब्यापक हुन्छ ।

युवाहरु सक्षम भएको प्रमाण यी दुई प्रतिनिधि कथाहरु हुन् । समाज परिवर्तनका द्योतक नै युवाशक्ति नै हो । कहिले संस्कृति भुलेको, कहिले आफू भन्दा ठूलोको मान नगरेको भन्ने युवा पुस्तालाई लान्छना लाग्ने गरेको छ । खासमा उनीहरुले कस्ता कुरा आफ्ना संस्कृति बुझ्छन् त्यो पनि महत्वपूर्ण हो । मन्दिरको लाइन लामो देखेर चिनेको मान्छेको बीचमा खुसुक्क छिरेर दर्शन गर्नु त संस्कृति हैन नि, बरु दर्शन नै नगर्नु राम्रो हैन र । दौरा सुरुवाल लाएर बाटो जहाँबाट पनि काट्नु पनि त संस्कृति हैन नि । बरु हाफ पेण्ट लगाएर जेब्राक्रसबाट बाटो काट्नु ठीक । संस्कृति भनेको त संस्कार हो नि अनि यो त लगाइ खुवाइ भन्दा भिन्न जिनस हो ।

काम पनि त त्यो गर्न पर्यो जुन गर्ने रहर मन भित्रबाट आवोस् । हाइ काड्दै ५ बजाउनै पर्ने जागिरमा युवा मोह छैन । आफुभन्दा अघिल्लो पुस्ताले जे सही भन्यो त्यसका पछि मात्रै नलागि आफ्नो रहरका पछि कुद्न तल्लिन छ युवा । अनि यिनले बुझ्ने काम, संस्कृतिलाई यिनकै नजरबाट हेरिनपर्छ । यो देश तेही हो जहाँ ६० कटेका युवा नेता र विद्यार्थीका नेता विद्यार्थीका बाबु हुन्छन् । उमेरका हिसाबले भन्दा दक्षताका चश्माले हेरे सही मानेमा रुपेश र मुकेशका कामले कदर पाउनेछन् र अन्यलाई मार्गदर्शन गर्नेछन् ।


No comments: