अलग हुन नयाँ काम थाल्नुपर्छ पुरानालाई गाली हैन

केही अघि स्पेनी सदनमा एक महिला सांसदले आफ्नो बच्चालाई स्तनपान गराउँदै गरेको तस्बिरहरु संचारमाध्यममा प्रकाशित भए, सामाजिक सञ्जालमा त झन् भाइरलै भयो । हाम्रा फेसबुके र ट्वीटेहरुले यी तस्बिरहरु पोष्ट गर्दै आमाको मायामा केही हरफहरु खर्च गरे ।


तस्बिरमा देखिएको पाँच महिने बालक डिएगो र उनकी आमा केरोलिनाका विषयमा संसारभर चर्चा परिचर्चा भइरहे । उनका पक्षमा महिलावादी एक समूहले समर्थन ग¥यो जो उनको मतलाई विशेषत सम्मान गर्न चाहन्थ्यो । केरोलिनाले पनि आफूले सो कदम ती तमाम् महिला जो आफ्नो बच्चा लिएर काममा जान विवश छन् र जसका कार्यालयमा साना बच्चा राख्ने खेलाउने स्थान छैन सो को स्थापनार्थ अभियान सुरु गर्न यो पाइला चालेको भनिन् । निश्चय पनि काम गर्ने महिलाका लागि नेपाल वा विकसित मूलुक स्पेनको स्थितिमा खासै ठूलो भिन्नता छैन । एक महिलाको विभिन्न रुप मध्ये सबैभन्दा पहिलो आमाको भूमिकाका लागि कुनै अरु कार्यले वाधा सृजना गर्ने अवस्था आउन हँुदैन । र सो अप्ठयारो जुनबाट कामकाजी महिला गुर्जिनुपर्ने हुन्छ त्यसको प्रतिनिधित्व त्यो तस्बिर अनि त्योसँग गाँसिएको सन्देशले गर्न चाहेको थियो ।



सिक्काको अर्को पाटो पनि थियो । यिनको कदमको आलोचना र विरोध पनि उत्तिकै भयो । यसको अग्रपक्तिंमा पनि महिला अधिकारवादी नै थिए । उनीहरुको बुझाइ केरोलिनाको भन्दा भिन्न थियो । के बच्चा हुर्काउनु भनेको केवल महिलाको नीजि मामिला हो? यदि यसमा पुरुषको पनि उत्तिकै भूमिका रहन्छ भने सो तस्बिरको गलत प्रयोग भएको उनीहरुको ठम्याइ छ । यस किसिमको तस्बिरले बच्चाको हुर्काइको सम्पूर्ण पक्ष महिलामा निहित भएको सन्देश जाने र यसले महिला अधिकारका विषयलाई फिक्का पार्ने किसिमको सन्देश दिने हुँदा यो ठीक नभएको जिकिर उनीहरुको थियो । साथै अन्य विरोध गर्नेले संसदमा साना बच्चा राख्ने नर्सरी हुँदाहँुदै बच्चालाई स्तनपान गराउँदै संसदीय छलफलमा सहभागी हुनु पब्लिसिटी स्टन्ट मात्र भएको समेत भने । केरोलिना कामकाजी महिलाका जटिलताका विषयमा छलफल चलाउने अधिकारकर्मी समेत रहनुभएको र उनलाई बच्चालाई आफ्नो राजनीतिक उद्देश्य पूर्ति गर्ने माध्यम मात्र बनाएको भन्ने विरोध पनि उनले खेप्नुपर्यो ।

यसका विषयमा विश्व तरङ्गित भइराख्दा हामी छलफलमा प्रवेश नगरी सतहैमा राम्रो मात्र भनी मख्ख परिरहेका छौं । यो लम्बे बयान यहाँ पस्किनुको एकमात्र उद्देश्य भनेको जसरी विश्वमा विशेषत विकसित मूलुकका महिला अधिकारवादीहरु पनि एकै घटनाका पक्ष र विपक्षमा उभिए यस्तो संस्कृति हामीमा नरहेको पुष्ट्याउन खोजिएको हो ।

नेपालमा केही वर्ष अगाडि चरित्रहीन चेलीका छद्म नाममा बहस सुरु भएको थियो । सो बहशमाथि  उबेला ठूलो चर्चा परिचर्चा भएका थिए । महिलासँग सम्बन्धित विषयहरुमा पत्रिकामा खुलेर बहश प्रारम्भ भएको पहिलो अवसर थियो जुन लामो समय कायम हुन सकेन । यस्ता आम मानिसका पहँुचमा हुने बहशका अभाव वा न्यून संख्यामा भएका कारण आज विश्वमा धेरै परिवर्तन भइराख्दा यहाँ सामान्य मानिस महिला सशक्तिकरण भनेको पुरुषलाई गाली गर्नु भनेर बुझ्न वाध्य भएका छन् ।

यसै प्रसङ्गमा एक अर्को अनुभव जोड्न चाँहे । एक महिला मित्र जो नेपालमा लेखेर राम्रो नाम बनाइसकेकी थिइन् उनी आफ्नो उच्च अध्ययनमा विदेश हुँदा सामाजिक सञ्जालमा स्टाटस लेख्छिन् । उनको स्टाटसको भाव महिलाहरुको महिनावारीसँग सम्बन्धित थियो । नेपालमा यी दिनहरुमा म पूजा गर्दिन, घरका विशेष स्थानहरुमा छिर्दिन थिएँ, अहिले घरबाट टाढा हुँदा पनि मेरो दिमागमा चुला छिर्न हुँदैन कि भन्ने मनोभाव अझै आइरहेकोछ । लेखेको केही क्षणमा उक्त स्टाटस उनले सामाजिक सञ्जालबाट हटाइन् । साँच्चै नै देशमा राम्रो स्थान बनाइसकेकी र सामाजिक सञ्जालमा पछ्याउनेको उल्लेख्य संख्या भएकी उनले आफ्नो विचार पोखेर पून हटाउन विवश के कारणले भइन् होला विचारणीय छ ।

यस्ता ब्यवहारिक समस्याका बारेमा स्थान कम थिए वा अटाएनन् नै । यस्ता अवस्थाबाट गुर्जिने महिलाहरुलाई सम्वोधन हुने विषयमा छलफल जरुरी छैन र ?

तीज मैले मनाइन । मैले दर खाइन । यस्ता स्टाटस सामाजिक सञ्जालहरुमा तीजको वरिपरि धेरै पढियो । साँच्ची नै चाड वा धर्मका कुरा आस्थामा टिकेको हुन्छ । बिगतमा मनाइने तीज र पुरुषका भूमिकालाई आजको दिनमा दाँजेर हेर्दा धेरै परिवर्तन भएको पाइन्छ । तीजका बारेमा आफ्ना अत्यन्त नीजि विचार प्रकट गरेर मनाउनेलाई कटाक्ष गर्नुको साटो महिला सम्बन्धित विषयलाई ध्यानाकर्षण गराई परिवर्तनका संभावक हुदाँ बेस होला ।

नेपाली अनलाइन ब्यापार गर्ने कम्पनी सस्तो डिलले महिनावारीका दिनहरुमा महिला कर्मचारीहरुलाई घरैबाट काम गर्न मिल्ने ब्यवस्था गरेर उदाहरणिय बनेको छ । महिला अधिकार र हकका कुरा गरेर नथाक्ने अभियन्ता, अगुवाहरुको यस्ता ब्यवहारिक पक्षमा आवाज उठाउने तर्फ थप ध्यान जाओस् र कम्तिमा आफू कार्यरत स्थानमा महिला मैत्री ब्यवस्था र सुविधाका लागि पहलकदमी होस् ।

हाम्रा देशमा पनि धेरै उद्यमशील महिलाहरु छन् जो आफूले चाहे जसरी बच्चाको वृत्तिविकासमा सरिक हुन सक्दैनन् तिनका बारेमा सोच्न ढीलो नगरियोस् । आज एक कार्यालय वा कम्पनी जसले तीज र अन्य कार्यक्रमका लागि लाखौं खर्च गर्न उद्यत छन् तिनले तेही पैसा कार्यालयमा काम गर्ने कर्मचारीका बालबालिका लागि नर्सरी बनाउन खर्च गरेमा कार्यालयको काममा कर्मचारीको ध्यान पनि जाने थियो र एक उत्तरदायित्वपूर्ण कामको थालनी पनि हुने थियो । एकै वर्षमा सहज नहोला तर प्रत्येक वर्ष केही रकम बिनियोजन गरी थाल्ने हो भने खाएर र केही क्षणको रमाइलोको साटो भोलिको  भविश्य निर्धारण गर्ने बालबालिकाको विकास आशातीत हुनेछ । स्पेनमा एक महिला सांसदले भोग्नुपरेको स्थिति यहाँका लाखौं महिलाको दैनिकीको अंश नै बनिसकेको छ । यसलाई सहजीकरण गरी सार्थक प्रयास हरेक क्षेत्रबाट भएमा महिलाका हक अधिकार स्थापित हुन सघाउ पुग्नेछ ।