ज्ञानेन्द्र शाहसँग डर किन?



जनताका अधिकारमा लागि मार्ने कि मर्ने आन्दोलन गर्ने माओवादी राजाबाट सामान्य नागरिक भईसकेका ज्ञानेन्द्र शाहसँग किन यतिधेर डराएको होला । बेरोकतोक जहाँ जहिले पुग्न पाउने सामान्य नागरिकको अधिकार पूर्वराजाले पाउनुपर्छ । उनी काविल छन् र जनतालाई विश्वास दिलाउन सक्छन् भने उनले राजनीतिमा स्थान बनाउन पनि सक्लान् तर सधैं आफ्नो कर्तब्य बिमुख हुने नेताहरुले यसलाई ठूलो इस्यु बनाउन जरुरी छैन । नागरिक अनलाइनको समाचार यहाँ छ 

सडकको कथा




रत्नपार्क लगनखेल रुटमा चल्ने माइक्रोबस ।

“भाई कार्ड छ” ।

“यत्रो ठूलो पेट लागेको मान्छे पनि विद्यार्थी हुन्छ ” ?

ठ्याम्म एक गाला दिऊँ जस्तो भईसकेको थियो, आफैलाई सम्हाले । रिस त्यो सिल्लीले विद्यार्थी जस्तो देखिएन भनेकामा हैन कि बडेमान पेट छ भनेर गिज्याएकामा उठेको थियो ।

एक त औंसीपूर्णेमा गाडी चढ्नु छ त्यसमाथि जाबो खलाँसीले समेत उडायो बा । म पनि के कम रिसको झोकमा पुरै पैसा तिरिदिएँ ।

छेउमा बसेको अल्लारे केटो चाहिँ फोनमा गफ हान्दैथ्यो । गाडी कुपन्डोल पुगेको थिएन पूल्चोक आइसकेको भन्दियो । मोबाइलमा ढाँट्न बडा सजिलो । जहाँ छु भन्दिए नि भइगयो नि ।

छङछङ चुरा बजाउँदै एक महिला प्रवेश गरिन् माइक्रोमा, उमेर हुँदो हो ४० तिरको । यो तीजले पनि गर्नुग¥यो । रातो रङ कै एलर्जी होला जस्तो भइसकेको थियो । उनलाई बस्ने सिट थिएन । कसैले सिट पो छोडिहाल्छ कि भन्ने भावमा यता उता हेरिन्, मैले देखे नदेखेको गर्दैथिएँ, छेउको केटोको उत्रिने ठाऊँ नजिकिएकाले उठि पो हाल्यो र ती महिला मेरै बगलमा बस्न आइन् ।

म भए त छाड्ने थिइन सिट । ती महिला भन्दा पनि उमेरका पाका दाई अलिक पर उभिएका छन् अनि यिनलाई आउने बित्तिकै सिट !

ड्राइभरले फेरि गाडीमा तीज कै गीत बजायो । उसै त रातो रङ, अनि तीजका गीतले वाक्क भएको म, अहिलेको गीतले त झन् तिरिमिरि बनायो ।

“कि गीत बन्द गर नभए म उत्रन्छु ” ।

उत्रे घाटा त मलाई नै थियो, भाडा जो दिइसकेको थिएँ । म उत्रे । ती महिलाले पनि बजाइ राख्न भनिन् अनि त ड्राइभर मेरा कुरालाई किन टेरपुच्छर लाउँथ्यो ।

आफ्नो मोबाइलका गीत सुन्न थाले । अनारकली डिस्को चली । बल्ल त्यो तीजका बेफ्वाँकको गीत भन्दा राम्रो गीत सुन्न पाइयो । आनन्द लाग्न थाल्यो । अघिको आन्दोलित मन ठन्डा भयो ।

“हलो म तपाइँका बारेमा कुनै अड्कल गरौँ ” ?

एउटा मान्छे अगाडि ठोक्किन पो आयो बा । म यसलाई त चिन्दिन नि । झण्डै मेरै उमेरको केटो । तीन दशक तिर उमेरले टेकेको त्यस मान्छेलाई मैले कतै चिनेको त छैन नि ! म घोत्लिएँ । अहँ छैन ।अनि नचिनेको मान्छेको बारेमा यसले किन अड्कल गर्नुपर्ने !

“तपाइँका घरमा अहिले श्रीमति छैनन् तिनी माइत गएकी छन् । मैले सही भने हैन ”?

“महाशय तपार्इँ धेरै जान्ने नहूनुस् त ! मेरा घरमा श्रीमति छिन् र मलाई कु्री रहेकी छिन् ” ।

“तपार्इँ ढाँट्दै हुनुहुन्छ । घरमा श्रीमति भएको मान्छे यसरी गाना सुनेर मख्ख हुँदैं हिँड्न सक्दैन । तनावमा घर पुग्ने चटारोमा हुन्छ ” ।

“आज त तीजको अघिल्लो दिन । प्रायका श्रीमति माइत गएका हुन्छन् । यति भेऊ त सबैले पाउँछ नि ” । मैले जवाफ फर्काएँ ।

“तपार्इँको कुरोमा आंशिक सत्यता छ तर पूर्ण होइन । उ परबाट आउँदैं गरेको ब्यक्तिको घरमा श्रीमति छिन् सोध्ने हो यसलाई ” ?

ऊ पर गएर म जस्तै त्यस ब्यक्तिलाई पनि सोध्यो । म अलि पर बसेर हेरिरहेँ ।

“मैले भनेको सही भयो । तिनको श्रीमति घर मै छिन् ”।

मलाई डर पो लाग्न थाल्यो । यो खुस्केट त होइन । म उत्तर नदिई छिटो छिटो अगाडि बढेँ ।

घरमा श्रीमति हुनु र नहुनुले यति फरक पार्छ र?

म गीत सुन्दै आफ्नो गन्तब्य तीर हानिएँ ।


समाप्त




वधाई छ २ हजार पटक ब्लग हेरिएछ


आज यो ब्लगले २ हजार पटक हेरिने मौका पायो । वधाई समस्त साथीहरुलाई जसले एक पटक भए पनि हेर्नुभयो, राय सल्लाह सुझाव दिनुभयो र ब्लगलाई कमेन्ट गरिदिनुभयो । २ हजारको संख्यामा हेरिएपछि २० हजारको लक्ष्य पनि भेटिने आशा पलाएको छ । हेर्दै गर्नुहोला । 

बन्दका कारण अनेक




४ घण्टे चक्काजाम र उपत्यका बन्द एमालेको युवा संगठनले गरेको छ । बन्द प्रधानमन्त्रीलाई राजिनामा गराउन दबाब स्वरुप गरिएको हो रे । आज अरुणपूर्वका ९ जिल्ला पनि बन्द छ । पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम र सङखुवासभामा बन्दको प्रभाव छ । युद्दका क्रममा लिम्बुवान नहारेपछि षड्यन्त्र पूर्वक १८३१ साउन २२ गते लिम्वुवानलाई एकात्मक राज्य सत्ताले गाभेकाले यस दिनलाई हरेक वर्ष कालो दिनको संज्ञा दिएर राष्ट्रिय जनमुक्ति पार्टीले वन्दको आहावन गरेको हो रे ।

फेसबुकले ब्यक्तित्व झल्काउँछ


अचम्म तर खोज गरिएको प्रतिबेदन अनुसार कुनै ब्यक्तिले आफ्नो फेसबुक स्टेटस कस्तो राख्दछ, कस्तो फोटो अपलोड गर्छ भन्ने कुराले त्यो ब्यक्तिका बानी ब्यहोरा समेत पत्ता लाग्दछ । अलिकति बढी चुनौति मन पराउने ब्यक्तिहरुले छिटो छिटो स्टेटस अपडेट गर्ने, फोटोहरु अपलोड गर्ने, नयाँ एप्पलीकेशनहरु प्रयोग गर्ने पाइयो ।
अरु बढी कुरा तलको लिंकमा पढ्न सकिन्छ ।

http://www.thehindu.com/sci-tech/internet/article3643432.

हाम्रा हैन राम्रा




देशमा राम्रा मानिस ठाम्मा पुगून् र तिनले काइदाको काम गरुन् । सबैको ईच्छा यस्तै हुन्छ । तर राम्राको ठाऊँ हाम्राले लिए अनि देश खाडलमा जाकियो । आजको हिमालमा डा. गोविन्द केसीका बारेमा पढियो । एक्लैले राम्रो अडान लिँदा पनि फरक त पर्दो रहेछ । उनका कामलाई सलाम । अनि सुधार गरी छाड्ने उनको प्रतिबद्धतालाई साधुवाद ।

डा. गोविन्द केसी ब्यक्तिगत स्वार्थबाट मुक्त रहेर सार्वजनिक हितमा क्रियाशिल नाम हो । टिचिङ्ग हस्पिटलमा राजनीतिक नियुक्तीका बिरुद्ध अनुभव, योग्यता, कार्यक्षमता, बरिष्ठता र भिजनका आधारमा छनोट हुनुपर्ने दृढताका साथ उभिएका यिनका बारेमा हिमाल पत्रिकाको नयाँ अङ्कमा पढ्न पाइन्छ ।

असार १५


दृश्य १

असार १५ को चटारो ! पानी परेकाले रोपाईंको भ्याईनभ्याई । हिलो छ्यापाछ्याप ! धमाधम रोपाईं ।

दृश्य २

मलका लागि पैसा उठाएर काठमाण्डौं आएको यहाँ आए पछि झन् कता हो कता भइयो । कृषि मन्त्रालयसँग पनि कुरो मात्रै मल छैन । 

दृश्य ३

असार १५ लाई रोपाईं दिवसका रुपमा मनाउने प्रयास । स्थान कृषि मन्त्रालय, सिंहदरवार । मन्त्री अनि किसानका नेताले पनि खेत छिर्ने दिन यही मात्र हो । वर्षभरि नै मल अभाव भए पनि आज त होलीको मुडमा हिलो त खेल्नै प¥यो । 

सडक यात्रा 1




आवागमन नै हुन नसक्ने गरी बाटो जाम, छिचोल्दै अगाडि पुग्दा एउटा मोटरसाइक र कार बीचमा रोकिएको थियो । भएछ के भन्दा मोटरसाइकलले ब्रेक लगाउँदा लगाउँदै गाडीको छेउमा छोएछ र कारमा स्क्रयाच भएछ । अनि त के चाहिन्थ्यो र? कारधनी मुरमुरीदैं निस्केर सबै गाडीको डेन्टीङ्ग पेन्टीङ्ग गर्नुपर्ने बताए पछि बाइकवालाको पनि पारो चढेछ, त्यसपछि फिल्मी मुक्कामुक्की कै दृश्य देखियो ।

यत्रो महाभारत भन्नुको कारण चाहिं सानो सानो कुरामा रिसाउने बानी हो । यस्तै प्रसङ्गमा कुरो चल्दा अमेरिका तिर बस्ने साथीले भन्थ्यो दुई गाडी ठोक्कियो भने भनाभन गर्नेस्थिति देखिदैंन रे  ! त्यहाँ, दुईटा गाडी जुधेर गाडीधनी मुरमरीदै हैन हाँस्दै निस्कन्छन् रे आज त मज्जाको मौसम छ भनेर कुरो पो गर्छन रे । यो हामलाई चाहिं उठ्ने बेफ्वाँकको रीस हाम्रो गरिवी अनि अभाव कै कारण हो त!

बिचरा बन्द


जेष्ठ १४ मा संविधान जारी हुने हौवा हुँदा दैनिकका बन्द हुने गर्थे । कुनै कुनै समय त यस्ता थिए कि परस्पर विपरित मागहरु माग्दै एकै दिन पनि बन्द हुन्थे । संविधान त जारी भएन तर बन्द नभएर चाँहि हाइसन्चो भाछ । 

जनताले कुनै हालतमा पनि बन्द स्वीकार्दैनन् भन्ने कुरो यसैबाट प्रमाणित भएकोछ । देशले संविधान नै नपाउनु जतिको पीडा अरु कुनै हुन सक्दैन तर यसमा पनि कसैले नेपाल बन्द गरौं त भनेका छैनन् नि । अब देशमा बन्द नहोस् यही कामना गरौं ।

मापसे जाँच




अलि अगाडि मापसे हट टपिक थियो । यो जाँचले गर्दा धेरै घरका लोग्नेमानिस समयमा घर पुगे, कति रेस्टुरेन्ट नै बन्द पनि भए रे अनि कतिले जेलमा रात काट्न समेत प¥यो । ट्राफिकमा पनि यस कुरा खैलाबैला भयो, नक्कली बिलबाट पैसा असुल भएको कुरो छापामा आए । जे जति चर्चा परिचर्चा भएपनि राम्रो पाटो भनेको मादक पदार्थ (रक्सी)को सेवन पश्चात सवारी चलाउन हुँदैन भन्ने कुरो धेरैका दिमागमा बस्न सकेको छ । अहिले मैले उठाउन खोजेको प्रसङ्ग अलि फरक यस मानेमा छ कि यसको विषय सवारी चलाउने ब्यक्ति नभई जाँच गर्ने ट्राफिकका बारेमा हो । भर्खरैको साँझ कार्यक्रम पश्चात अबेर राति घर फर्कने क्रममा जाँचमा परियो । आफूले मापसे नगरेको हुँदा मलाई डर केही थिएन तर मलाई सोध्ने ट्राफिकको बोली लरबरिएको थियो, मुखबाट गन्ध पनि आईरहेको थियो । हुन त जोखिम चलाउनेलाई नै हो न कि जाँच गर्नेलाई, तैपनि आफ्नो ड्युटीमा रहेको ट्राफिकले रक्सी खानु त कुनै कुराले पनि क्षम्य छैन त्यतिबेला जब उसले नै अरुले खाएको वा नखाएको जाँच गरिरहेको छ ।

ठूला बाइकका तमासा



ठूलो आवाजका साथ बुलेट बाइक छेउबाट हुइँकियो । सम्हालिदैं अगाडि बढें, काठमाण्डौंको सडक उही अनि ट्राफिक जाम पनि उस्तै । अलि पर पुगेपछि अघि हुक्याउँदै हिड्ने सोम सुसेल्दै ट्राफिक बत्ति हरियो हुने समय कुरिरहेको रहेछ, म अलि अगाडि गएर रोकिएँ । अब हेर्नुस त साथी हो बिडम्बना, भटटटट आवाज निकालेर सबैलाई डराउँदैं नागबेली कुदाउने साथीलाई १०० सिसिको मेरो फुच्चे बाइकले भेट्दो त रहेछ । त्यसरी कुदाएर गन्तब्यसम्मै पुग्न सक्ने भए त हुन्थ्यो नि । अनि यी हाम्रा बाटा कस्ता छन् बुझिबुझि बीचबाट छिराएर कुदाउन खोज्ने साथीहरुलाई के भन्नु, त्यस्ता भिमकाय बाइकले खर्च गर्ने तेलको पो माया लाग्यो ।

प्रधानमन्त्रीलाई पत्र


सम्माननीय प्रधानमन्त्रीज्यू,

प्रधानमन्त्रीज्यू आज झोरमहांकाल पुग्नु भएछ । जनतासँग गफ्फिनु भएछ, यसले कुनै हदसम्म नेपालीका नैराश्यतालाई दूर पक्कै गर्छ । वावुराम सर हजुर त इन्जिनियर र आर्थिक सवालमा पनि अग्रणी भएकोले तपाईं माथि अझै म जस्ता धेरैको आशा छ । सँगैको बिहारले दोहोरो अङ्कको बृद्धिदर हाशिल गरिरहेको परिप्रेक्षमा ठूला विकासका परिआयोजनालाई पूरा गर्नुस ।

हामीलाई घर पुग्दा बत्ति, धारामा पानी, अलि फराकिला सडक र सहज आवागमन हुने सार्वजनिक यातायात । महिनाको १० हजार कमाएर ५ हजारको भाडा तिर्नुपर्ने र ५ हजारको खानुपर्ने स्थिति छ, बचतको कुरै छोडौं कसरी खर्च धान्ने भन्ने चिन्ता धेरैको छ । माथि भनेको सबै एकै पटक नहोला तर एउटालाई गर्छु भनेर कम्मर कस्नुस । संविधान नहुँदा मलाई घाटा छ तर यस्ता कुरा जुन नहुँदा मलाई बाँच्न गाह«ो हुन्छ ती धेरै मेरा लागि महत्वपूर्ण छ ।

म एक युवा हुँ । मैले विदेशमा मेट्रो चलेको देख्दा आफ्नो देशमा पनि यस्तै होस् भनेर चिताउनु गल्ती हो त? यसका योजना बनिरहेको सुनेको छु र अहिलेको राजनीतिक अस्थिरताले फेरि यस्तो योजनाले धुलो नै चाट्ने त होइन?  ।

राजनीतिक विषयमा मतभिन्नता हुनु स्वभाविक हो तर आर्थिक विकासका सवालमा त सबैको एकै स्वर छ नि तर किन यसले प्राथमिकता नपाउने ? तपाईँहरु ६०१ ले संविधान दिनुभएन अब आर्थिक एजेण्डा दिनुस हाम्रो साथ छ । संसारमा लिखित संविधान नै त नभएर देश चलेका छन् अनि हाम्रामा चाहिं किन रडाको ?

मेरा टोलका र सँगै पढ्ने साथीहरु बिदेशीदा यहाँ गर्नुछ भनेर बाँधे । बाहिर गर्ने परिश्रम यहीं गर्दा यहीं भविश्य छ भनेर बसें । यो मेरो विचार र अठोट पनि बिस्तारै गल्दै छ । अझै पनि सकारात्मक सोचका साथ अघि त जाँदै छु , तपाईंले आर्थिक प्रगतिका बातावरण बनाउनूस् हामीसँगै छौं ।

तपाईको

सुधन सुवेदी  

अनिल चित्रकारसँग छलफल


http://www.youtube.com/watch?feature=player_embedded&v=9rQRys-BL-o#!

नयाँ कार्यक्रम गर्ने सोच्दा मलाइ जहिले पनि अनिल दाइले भन्नु भएको कुरा याद आउँछ । एक जना मान्छेले सोच्दा अनि गर्दा धेरै सकारात्मक परिवर्तन आउँछ, धेरै मान्छे त रत्नपार्कको रेलिङ्ग भत्काउन मात्र चाहिन्छ, अहिले रत्नपार्कको रेलिङ्ग त छैन तर हामी केही गर्न लागि परेकाछौं । कीर्तिपुरमा हाम्रो एक सामाजिक संस्था छ, जसले बढी मात्रामा युवा केन्द्रित कार्यहरु गर्दछ । यसको नाम कीर्तिपुर स्वर्यसेवक समाज हो । हामीसँग बस्ने, छलफल गर्ने स्थान छ जहाँ हामी प्राय साझँ भेटिन्छौ । अब हाम्रो बसाइलाई बत्तिले प्रभावित नगरोस् भनेर सौर्य उर्जाबाट चल्ने विद्युत प्रणाली जडान गर्ने सोचलाई सार्थक बनाउन रकम सङ्कलन गर्नुपर्ने स्थिति आएको छ । केही कार्यक्रम गरेर रकम सङ्कलन गर्न पाए अझै राम्रो भनेर अनिल चित्रकार दाइसँगको छलफललाई उपयोग गर्ने जमर्को गरेका छौं ।

अनिल चित्रकारको छोटो चिनारीः

सपना देख्ने तर व्यवहारमा उतार्न नसक्ने धेरैको भिडँमा अनिल चित्रकार फरक देखिन्छन् । उनले ग्रामिण क्षेत्रमा सञ्चालन गरेको सौर्य टुकीको अवधारणाले संसारभर प्रसिद्धि पाएको छ । बिजुली नपुगेका  ग्रामिण क्षेत्रमा मट्टीतेल महँगो हुने वा नपाइने कारणले मानिसहरुले बत्तीसमेत बाल्न नसक्ने अवस्था छ । चित्रकारले र्सौय उर्जाबाट टुकी मात्र बालेनन्, रेडियोको ब्याट्र्रीसमेत चार्ज गर्ने व्यवस्था मिलाए। ब्याट्र्री चार्ज गर्न विद्यालय जानुर्पने योजना ल्याएपछि विद्यार्थीहरु विद्यालय जान बाध्य भए। एउटै योजनाले लाखौं ग्रामिण जनतालाई फाइदा पुगेपछि उनले अशोका फेलोसिप, ग्लोबल लिडर्स एवार्ड, टेक म्युजियम एवार्र्ड जस्ता विश्वप्रसिद्ध पुरस्कार जिते। यी पुरस्कारबाट उनले करिब २ करोड रुपैयाँ पाए। अहिले त्यही पुरस्कारबाट आएको आम्दानीले उनी विभिन्न परियोजनामा काम गरिरहेका छन् । चित्रकार नवीकरणीय ऊर्जा,  प्राकृतिक स्रोत संरक्षण एवं मानवीय सम्पदा संरक्षणा विज्ञ पनि हुन्।

उनै अनिल चित्रकार सँगको Idea Sharing Program मा सहभागिता जनाइदिनुहुन अनुरोध छ ।

विषयः Excelling in Changing Nepal(नयाँ नेपालमा समृद्धि तर्फको यात्रा)
मितिः २०६९ जेष्ठ ३१, वुधवार
समयः साझँ ७ देखि ८ बजे, त्यसपछि खाना
स्थानः होटल हिल साइड, कीर्तिपुर
सहयोग रकमः रु ५०० (पाँच सय) खाना सहित

नेतालाई माइक अनि सम्झौताको कागज देख्नै नहुने




माइक देख्ने बित्तिकै बोल्न सकसकाउने बानी त नेताको पुरानै बानी हो । यसमा अब नयाँ कुरो थपिएको छ–सम्झौताको कागज । परस्पर विरोधी सम्झौतामा पनि सरकारले हस्ताक्षर गर्दिगो, दायाँ बायाँ सोच्ने त समय नै छैन भने जसरी ढ्याङ्ग कि ढ्याङ्ग कि सही ठोक्या ठोकै छन् भले पछाडि त्यसका के जाति आत्मआलोचना गरे पनि । अब त माइक सँगै कागज पनि लुकाउनु प¥यो ।

टिपटपको समोसा र रञ्जना गल्लीको सोडा



खाडी मूलुकतिर हान्निएको जमात हेर्दा भान पर्छ देशमा अब गर्न सकिने चिज नै बाँकि रहेन, भविश्य बनाउन बाहिर नगई नहुने भयो । तर सबै चिज त पक्कै सकिएको छैन, गर्दा यहीं सबथोक हुने पनि रहेछ । टिपटपको समोसा र रञ्जना गल्लीको सोडा यस्ता ठाउँ हो जहाँ खानलाई कुर्नुपर्ने हुन्छ, तैपनि मानिसहरु कुरेर आफ्नो पालो कुर्छन् अनि संयमका साथ खाएर फर्कन्छन् । आफ्नो स्वाद र गुणस्तरलाई कायम राख्न सकेरै यी ठाउँमा मानिसहरु सदाबहार घुइँचो देखिन्छ ।

रञ्जना गल्लीको सोडा पसलकम बस्ने दाइलाई हेर्ने हो भने एक पटकमा हामीले कति काम गर्न सक्ने रहेछौं थाहा हुन्छ । उनले सोडा बनाउने, पैसा लिने र हिसाब गरेर फिर्ता दिने, अर्डर लिने र ग्राहकलाई सोडा दिने सबै काम गर्छन् । गर्मीमा सोडा खानु त रमाइलो हुन्छ नै, सँगै उनको मिहेनत पनि देखिन्छ ।

चुइङ्गमजस्तो संविधानसभा




चुइङ्गमलाई जति चपाए पनि हुन्छ, गुलियो कम हुँदै जाने त हो । हाम्रो संविधानसभाको हविगत यस्तै छ । अर्को ३ महिना लम्ब्याउने कुरो सरकार गर्दैछ । संविधान चाहेजस्तो बनाउने काम गाह«ो पक्कै हो असंभव होइन नि । यो लम्बाइ अन्तिम होओस् ।

संसारका मजदुर एक होऔं




यो नाराले भित्ता रङ्गिएका थिए मइ दिवसका सेरोफेरोमा । नारा एकै हो सधैं दृश्य फरक । संसार कै मजदुरलाई एक हुन अनुरोध गरिराख्दा ०.०३ प्रतिशत भूभाग ओगट्ने हाम्रो मूलुकका पनि होइन पार्टी के मजदुर एकै ठाम्मा जम्मा हुन सकेनन् । नारा त भित्तालाई न हो ।

पर्यटकका कुरा




हिजो एक एफएमसगँको कुराकानीमा पर्यटकलाई त गाह«ो हुने भयो नि भन्ने आशयको प्रश्न थियो । ३ दिन बस्ने पर्यटकलाई दुख अनि ३० वर्षदेखि यहीं जन्मी, हुर्की बस्ने मलाई बन्दले गरिरहेको छ तपाईंलाई थाहा नै छ । बन्दमा पर्यटकलाई कम्तीमा एअरपोर्टबाट होटेल र होटेलबाट एअरपोर्ट पुग्ने सुनिश्चित गर्ने जिम्मा लिने काम गछौं हामीले तर घरदेखि अफिस पैदल नै गर्दैछु । फोहर नउठ्दा रोग लाग्ला भन्ने डर हाम्लाई हो नि, पर्यटक त नाक थुनेर गैहाल्छ नि ।

बृद्ध सहभागिता




बन्दलाई सफल पार्न गरिएको जुलुस अनि सडकमा आसन जमाएर बसेका ब्यक्तिहरुलाई हेर्दा युवा सहभागिता न्यून देखियो । पहिचानको एजेण्डाले बढी फाइदा हुनु पर्ने ठूलो युवा जमातले यो घाममा सडकमा उर्तिनु बेस मानेन । यिनका समय त अमेरिका कसरी जाने, फर्म भर्ने, यावत प्रक्रियामा नै ब्यस्त छ । अब युवालाई नछुने यस्ता आन्दोलनले के गलार्न अनि कहिलेसम्म गरिरहने?

विष्णुमतिको अलाप




थापाथली पुल आइपुग्दा दुर्गन्ध नाकमा ठोक्कियो । हुन त सँधै त्यो ठाउँमा गन्ध आउँथ्यो, आज हिँड्दा बढी समय ब्यथित भएर होला गन्ध धेरै नमिठो आयो । यो गन्धको माहोलमा एउटा कुरा दिमागमा आइरह्यो–अघि साइकलका हावा फुस्काउने हातहरु खोला सफा बनाउन अनि फोहर फाल्नेलाई खबरदारी गर्नमा उठेका भए क्या काइदा हुने थियो । अनि मन्त्रीहरुलाई यहाँबाट नियमित हिंडाउन पाए त उनीहरुलाई पनि थाहा हुने थिए हाम्रो सभ्यताको स्थिति ।