देशमा राम्रा मानिस ठाम्मा पुगून् र तिनले काइदाको काम गरुन् । सबैको ईच्छा यस्तै हुन्छ । तर राम्राको ठाऊँ हाम्राले लिए अनि देश खाडलमा जाकियो । आजको हिमालमा डा. गोविन्द केसीका बारेमा पढियो । एक्लैले राम्रो अडान लिँदा पनि फरक त पर्दो रहेछ । उनका कामलाई सलाम । अनि सुधार गरी छाड्ने उनको प्रतिबद्धतालाई साधुवाद ।
डा. गोविन्द केसी ब्यक्तिगत स्वार्थबाट मुक्त रहेर सार्वजनिक हितमा क्रियाशिल नाम हो । टिचिङ्ग हस्पिटलमा राजनीतिक नियुक्तीका बिरुद्ध अनुभव, योग्यता, कार्यक्षमता, बरिष्ठता र भिजनका आधारमा छनोट हुनुपर्ने दृढताका साथ उभिएका यिनका बारेमा हिमाल पत्रिकाको नयाँ अङ्कमा पढ्न पाइन्छ ।
असार १५ को चटारो ! पानी परेकाले रोपाईंको भ्याईनभ्याई । हिलो छ्यापाछ्याप ! धमाधम रोपाईं ।
दृश्य २
मलका लागि पैसा उठाएर काठमाण्डौं आएको यहाँ आए पछि झन् कता हो कता भइयो । कृषि मन्त्रालयसँग पनि कुरो मात्रै मल छैन ।
दृश्य ३
असार १५ लाई रोपाईं दिवसका रुपमा मनाउने प्रयास । स्थान कृषि मन्त्रालय, सिंहदरवार । मन्त्री अनि किसानका नेताले पनि खेत छिर्ने दिन यही मात्र हो । वर्षभरि नै मल अभाव भए पनि आज त होलीको मुडमा हिलो त खेल्नै प¥यो ।
आवागमन नै हुन नसक्ने गरी बाटो जाम, छिचोल्दै अगाडि पुग्दा एउटा मोटरसाइक र कार बीचमा रोकिएको थियो । भएछ के भन्दा मोटरसाइकलले ब्रेक लगाउँदा लगाउँदै गाडीको छेउमा छोएछ र कारमा स्क्रयाच भएछ । अनि त के चाहिन्थ्यो र? कारधनी मुरमुरीदैं निस्केर सबै गाडीको डेन्टीङ्ग पेन्टीङ्ग गर्नुपर्ने बताए पछि बाइकवालाको पनि पारो चढेछ, त्यसपछि फिल्मी मुक्कामुक्की कै दृश्य देखियो ।
यत्रो महाभारत भन्नुको कारण चाहिं सानो सानो कुरामा रिसाउने बानी हो । यस्तै प्रसङ्गमा कुरो चल्दा अमेरिका तिर बस्ने साथीले भन्थ्यो दुई गाडी ठोक्कियो भने भनाभन गर्नेस्थिति देखिदैंन रे ! त्यहाँ, दुईटा गाडी जुधेर गाडीधनी मुरमरीदै हैन हाँस्दै निस्कन्छन् रे आज त मज्जाको मौसम छ भनेर कुरो पो गर्छन रे । यो हामलाई चाहिं उठ्ने बेफ्वाँकको रीस हाम्रो गरिवी अनि अभाव कै कारण हो त!
जेष्ठ १४ मा संविधान जारी हुने हौवा हुँदा दैनिकका बन्द हुने गर्थे । कुनै कुनै समय त यस्ता थिए कि परस्पर विपरित मागहरु माग्दै एकै दिन पनि बन्द हुन्थे । संविधान त जारी भएन तर बन्द नभएर चाँहि हाइसन्चो भाछ ।
जनताले कुनै हालतमा पनि बन्द स्वीकार्दैनन् भन्ने कुरो यसैबाट प्रमाणित भएकोछ । देशले संविधान नै नपाउनु जतिको पीडा अरु कुनै हुन सक्दैन तर यसमा पनि कसैले नेपाल बन्द गरौं त भनेका छैनन् नि । अब देशमा बन्द नहोस् यही कामना गरौं ।
अलि अगाडि मापसे हट टपिक थियो । यो जाँचले गर्दा धेरै घरका लोग्नेमानिस समयमा घर पुगे, कति रेस्टुरेन्ट नै बन्द पनि भए रे अनि कतिले जेलमा रात काट्न समेत प¥यो । ट्राफिकमा पनि यस कुरा खैलाबैला भयो, नक्कली बिलबाट पैसा असुल भएको कुरो छापामा आए । जे जति चर्चा परिचर्चा भएपनि राम्रो पाटो भनेको मादक पदार्थ (रक्सी)को सेवन पश्चात सवारी चलाउन हुँदैन भन्ने कुरो धेरैका दिमागमा बस्न सकेको छ । अहिले मैले उठाउन खोजेको प्रसङ्ग अलि फरक यस मानेमा छ कि यसको विषय सवारी चलाउने ब्यक्ति नभई जाँच गर्ने ट्राफिकका बारेमा हो । भर्खरैको साँझ कार्यक्रम पश्चात अबेर राति घर फर्कने क्रममा जाँचमा परियो । आफूले मापसे नगरेको हुँदा मलाई डर केही थिएन तर मलाई सोध्ने ट्राफिकको बोली लरबरिएको थियो, मुखबाट गन्ध पनि आईरहेको थियो । हुन त जोखिम चलाउनेलाई नै हो न कि जाँच गर्नेलाई, तैपनि आफ्नो ड्युटीमा रहेको ट्राफिकले रक्सी खानु त कुनै कुराले पनि क्षम्य छैन त्यतिबेला जब उसले नै अरुले खाएको वा नखाएको जाँच गरिरहेको छ ।
ठूलो आवाजका साथ बुलेट बाइक छेउबाट हुइँकियो । सम्हालिदैं अगाडि बढें, काठमाण्डौंको सडक उही अनि ट्राफिक जाम पनि उस्तै । अलि पर पुगेपछि अघि हुक्याउँदै हिड्ने सोम सुसेल्दै ट्राफिक बत्ति हरियो हुने समय कुरिरहेको रहेछ, म अलि अगाडि गएर रोकिएँ । अब हेर्नुस त साथी हो बिडम्बना, भटटटट आवाज निकालेर सबैलाई डराउँदैं नागबेली कुदाउने साथीलाई १०० सिसिको मेरो फुच्चे बाइकले भेट्दो त रहेछ । त्यसरी कुदाएर गन्तब्यसम्मै पुग्न सक्ने भए त हुन्थ्यो नि । अनि यी हाम्रा बाटा कस्ता छन् बुझिबुझि बीचबाट छिराएर कुदाउन खोज्ने साथीहरुलाई के भन्नु, त्यस्ता भिमकाय बाइकले खर्च गर्ने तेलको पो माया लाग्यो ।
प्रधानमन्त्रीज्यू आज झोरमहांकाल पुग्नु भएछ । जनतासँग गफ्फिनु भएछ, यसले कुनै हदसम्म नेपालीका नैराश्यतालाई दूर पक्कै गर्छ । वावुराम सर हजुर त इन्जिनियर र आर्थिक सवालमा पनि अग्रणी भएकोले तपाईं माथि अझै म जस्ता धेरैको आशा छ । सँगैको बिहारले दोहोरो अङ्कको बृद्धिदर हाशिल गरिरहेको परिप्रेक्षमा ठूला विकासका परिआयोजनालाई पूरा गर्नुस ।
हामीलाई घर पुग्दा बत्ति, धारामा पानी, अलि फराकिला सडक र सहज आवागमन हुने सार्वजनिक यातायात । महिनाको १० हजार कमाएर ५ हजारको भाडा तिर्नुपर्ने र ५ हजारको खानुपर्ने स्थिति छ, बचतको कुरै छोडौं कसरी खर्च धान्ने भन्ने चिन्ता धेरैको छ । माथि भनेको सबै एकै पटक नहोला तर एउटालाई गर्छु भनेर कम्मर कस्नुस । संविधान नहुँदा मलाई घाटा छ तर यस्ता कुरा जुन नहुँदा मलाई बाँच्न गाह«ो हुन्छ ती धेरै मेरा लागि महत्वपूर्ण छ ।
म एक युवा हुँ । मैले विदेशमा मेट्रो चलेको देख्दा आफ्नो देशमा पनि यस्तै होस् भनेर चिताउनु गल्ती हो त? यसका योजना बनिरहेको सुनेको छु र अहिलेको राजनीतिक अस्थिरताले फेरि यस्तो योजनाले धुलो नै चाट्ने त होइन? ।
राजनीतिक विषयमा मतभिन्नता हुनु स्वभाविक हो तर आर्थिक विकासका सवालमा त सबैको एकै स्वर छ नि तर किन यसले प्राथमिकता नपाउने ? तपाईँहरु ६०१ ले संविधान दिनुभएन अब आर्थिक एजेण्डा दिनुस हाम्रो साथ छ । संसारमा लिखित संविधान नै त नभएर देश चलेका छन् अनि हाम्रामा चाहिं किन रडाको ?
मेरा टोलका र सँगै पढ्ने साथीहरु बिदेशीदा यहाँ गर्नुछ भनेर बाँधे । बाहिर गर्ने परिश्रम यहीं गर्दा यहीं भविश्य छ भनेर बसें । यो मेरो विचार र अठोट पनि बिस्तारै गल्दै छ । अझै पनि सकारात्मक सोचका साथ अघि त जाँदै छु , तपाईंले आर्थिक प्रगतिका बातावरण बनाउनूस् हामीसँगै छौं ।
नयाँ कार्यक्रम गर्ने सोच्दा मलाइ जहिले पनि अनिल दाइले भन्नु भएको कुरा याद आउँछ । एक जना मान्छेले सोच्दा अनि गर्दा धेरै सकारात्मक परिवर्तन आउँछ, धेरै मान्छे त रत्नपार्कको रेलिङ्ग भत्काउन मात्र चाहिन्छ, अहिले रत्नपार्कको रेलिङ्ग त छैन तर हामी केही गर्न लागि परेकाछौं । कीर्तिपुरमा हाम्रो एक सामाजिक संस्था छ, जसले बढी मात्रामा युवा केन्द्रित कार्यहरु गर्दछ । यसको नाम कीर्तिपुर स्वर्यसेवक समाज हो । हामीसँग बस्ने, छलफल गर्ने स्थान छ जहाँ हामी प्राय साझँ भेटिन्छौ । अब हाम्रो बसाइलाई बत्तिले प्रभावित नगरोस् भनेर सौर्य उर्जाबाट चल्ने विद्युत प्रणाली जडान गर्ने सोचलाई सार्थक बनाउन रकम सङ्कलन गर्नुपर्ने स्थिति आएको छ । केही कार्यक्रम गरेर रकम सङ्कलन गर्न पाए अझै राम्रो भनेर अनिल चित्रकार दाइसँगको छलफललाई उपयोग गर्ने जमर्को गरेका छौं ।
अनिल चित्रकारको छोटो चिनारीः
सपना देख्ने तर व्यवहारमा उतार्न नसक्ने धेरैको भिडँमा अनिल चित्रकार फरक देखिन्छन् । उनले ग्रामिण क्षेत्रमा सञ्चालन गरेको सौर्य टुकीको अवधारणाले संसारभर प्रसिद्धि पाएको छ । बिजुली नपुगेका ग्रामिण क्षेत्रमा मट्टीतेल महँगो हुने वा नपाइने कारणले मानिसहरुले बत्तीसमेत बाल्न नसक्ने अवस्था छ । चित्रकारले र्सौय उर्जाबाट टुकी मात्र बालेनन्, रेडियोको ब्याट्र्रीसमेत चार्ज गर्ने व्यवस्था मिलाए। ब्याट्र्री चार्ज गर्न विद्यालय जानुर्पने योजना ल्याएपछि विद्यार्थीहरु विद्यालय जान बाध्य भए। एउटै योजनाले लाखौं ग्रामिण जनतालाई फाइदा पुगेपछि उनले अशोका फेलोसिप, ग्लोबल लिडर्स एवार्ड, टेक म्युजियम एवार्र्ड जस्ता विश्वप्रसिद्ध पुरस्कार जिते। यी पुरस्कारबाट उनले करिब २ करोड रुपैयाँ पाए। अहिले त्यही पुरस्कारबाट आएको आम्दानीले उनी विभिन्न परियोजनामा काम गरिरहेका छन् । चित्रकार नवीकरणीय ऊर्जा, प्राकृतिक स्रोत संरक्षण एवं मानवीय सम्पदा संरक्षणा विज्ञ पनि हुन्।
उनै अनिल चित्रकार सँगको Idea Sharing Program मा सहभागिता जनाइदिनुहुन अनुरोध छ ।
विषयः Excelling in Changing Nepal(नयाँ नेपालमा समृद्धि तर्फको यात्रा)
मितिः २०६९ जेष्ठ ३१, वुधवार
समयः साझँ ७ देखि ८ बजे, त्यसपछि खाना
स्थानः होटल हिल साइड, कीर्तिपुर
सहयोग रकमः रु ५०० (पाँच सय) खाना सहित
माइक देख्ने बित्तिकै बोल्न सकसकाउने बानी त नेताको पुरानै बानी हो । यसमा अब नयाँ कुरो थपिएको छ–सम्झौताको कागज । परस्पर विरोधी सम्झौतामा पनि सरकारले हस्ताक्षर गर्दिगो, दायाँ बायाँ सोच्ने त समय नै छैन भने जसरी ढ्याङ्ग कि ढ्याङ्ग कि सही ठोक्या ठोकै छन् भले पछाडि त्यसका के जाति आत्मआलोचना गरे पनि । अब त माइक सँगै कागज पनि लुकाउनु प¥यो ।
खाडी मूलुकतिर हान्निएको जमात हेर्दा भान पर्छ देशमा अब गर्न सकिने चिज नै बाँकि रहेन, भविश्य बनाउन बाहिर नगई नहुने भयो । तर सबै चिज त पक्कै सकिएको छैन, गर्दा यहीं सबथोक हुने पनि रहेछ । टिपटपको समोसा र रञ्जना गल्लीको सोडा यस्ता ठाउँ हो जहाँ खानलाई कुर्नुपर्ने हुन्छ, तैपनि मानिसहरु कुरेर आफ्नो पालो कुर्छन् अनि संयमका साथ खाएर फर्कन्छन् । आफ्नो स्वाद र गुणस्तरलाई कायम राख्न सकेरै यी ठाउँमा मानिसहरु सदाबहार घुइँचो देखिन्छ ।
रञ्जना गल्लीको सोडा पसलकम बस्ने दाइलाई हेर्ने हो भने एक पटकमा हामीले कति काम गर्न सक्ने रहेछौं थाहा हुन्छ । उनले सोडा बनाउने, पैसा लिने र हिसाब गरेर फिर्ता दिने, अर्डर लिने र ग्राहकलाई सोडा दिने सबै काम गर्छन् । गर्मीमा सोडा खानु त रमाइलो हुन्छ नै, सँगै उनको मिहेनत पनि देखिन्छ ।
चुइङ्गमलाई जति चपाए पनि हुन्छ, गुलियो कम हुँदै जाने त हो । हाम्रो संविधानसभाको हविगत यस्तै छ । अर्को ३ महिना लम्ब्याउने कुरो सरकार गर्दैछ । संविधान चाहेजस्तो बनाउने काम गाह«ो पक्कै हो असंभव होइन नि । यो लम्बाइ अन्तिम होओस् ।
यो नाराले भित्ता रङ्गिएका थिए मइ दिवसका सेरोफेरोमा । नारा एकै हो सधैं दृश्य फरक । संसार कै मजदुरलाई एक हुन अनुरोध गरिराख्दा ०.०३ प्रतिशत भूभाग ओगट्ने हाम्रो मूलुकका पनि होइन पार्टी के मजदुर एकै ठाम्मा जम्मा हुन सकेनन् । नारा त भित्तालाई न हो ।
हिजो एक एफएमसगँको कुराकानीमा पर्यटकलाई त गाह«ो हुने भयो नि भन्ने आशयको प्रश्न थियो । ३ दिन बस्ने पर्यटकलाई दुख अनि ३० वर्षदेखि यहीं जन्मी, हुर्की बस्ने मलाई बन्दले गरिरहेको छ तपाईंलाई थाहा नै छ । बन्दमा पर्यटकलाई कम्तीमा एअरपोर्टबाट होटेल र होटेलबाट एअरपोर्ट पुग्ने सुनिश्चित गर्ने जिम्मा लिने काम गछौं हामीले तर घरदेखि अफिस पैदल नै गर्दैछु । फोहर नउठ्दा रोग लाग्ला भन्ने डर हाम्लाई हो नि, पर्यटक त नाक थुनेर गैहाल्छ नि ।
बन्दलाई सफल पार्न गरिएको जुलुस अनि सडकमा आसन जमाएर बसेका ब्यक्तिहरुलाई हेर्दा युवा सहभागिता न्यून देखियो । पहिचानको एजेण्डाले बढी फाइदा हुनु पर्ने ठूलो युवा जमातले यो घाममा सडकमा उर्तिनु बेस मानेन । यिनका समय त अमेरिका कसरी जाने, फर्म भर्ने, यावत प्रक्रियामा नै ब्यस्त छ । अब युवालाई नछुने यस्ता आन्दोलनले के गलार्न अनि कहिलेसम्म गरिरहने?
थापाथली पुल आइपुग्दा दुर्गन्ध नाकमा ठोक्कियो । हुन त सँधै त्यो ठाउँमा गन्ध आउँथ्यो, आज हिँड्दा बढी समय ब्यथित भएर होला गन्ध धेरै नमिठो आयो । यो गन्धको माहोलमा एउटा कुरा दिमागमा आइरह्यो–अघि साइकलका हावा फुस्काउने हातहरु खोला सफा बनाउन अनि फोहर फाल्नेलाई खबरदारी गर्नमा उठेका भए क्या काइदा हुने थियो । अनि मन्त्रीहरुलाई यहाँबाट नियमित हिंडाउन पाए त उनीहरुलाई पनि थाहा हुने थिए हाम्रो सभ्यताको स्थिति ।
सक्ने त हिँडे, चाँडै पुग्नु पर्नेहरु साइकलमा थिए । पुल्चोकमा सुसेल्दै सडकमा पहरा दिई रहेका जत्थाले साइकल रोक्दै हावा फुस्कायो । साइकलसवारको अनुनय कसले सुन्थ्यो र! उसले आफ्नो समस्या भन्दै थियो जसको सुनुवाइ भएन । हावा फुस्काएको साइकल डो¥याउँदै रिसले रातो फुलेको अनुहार बनाउँदै ऊ आफ्नो गन्तब्य लाग्यो ।
हिजो थापाथली आइपुग्दा जुलुस भेटियो । नारा लगाउँदै हिंडेको उक्त जुलुसको आकर्षण थिए–सानो भाई जसको हातमा डम्फु थियो । उनकै डम्फुको सुरमा सबै जुलुसमा मग्न थिए । त्यो सानो भाइको स्कूल बन्द भएर उसलाई जुलुस रमाइलो भइरहेको थियो । उसको भविश्यको चिन्ता कसले लिने?
बजारमा खाना पकाउने ग्याँस पाइएको छैन । सिमित अपर्याप्त संख्यामा आउने सिलिण्डरले धेरै घरहरुमा चुल्हो बल्न पाएको छैन । सिलिण्डर बोकेका गाडीहरु बाटोबाटै अपहरित भएका छन् । अभावले अराजकता ल्याउँछ भन्ने अवस्थाको गहकिलो उदाहरण हो यो ।
सरकारी अनुगमनका क्रममा अर्को अचम्मको कुरा देखियो । ब्यापारीहरुले आएका सिलिण्डरहरुको कालो बजारी गरिरहेको चर्चा त यस्ता अभावमा सधैं चल्ने नै गर्छन् । तर छापाका क्रममा खोजिएको परिमाणमा सिलिण्डर ब्यापारीहरुसँग पनि नभएको पाइयो । ग्याँस नपाए पछि १ सिलिण्डर राख्नेले २ अनि २ हुनेले ४ राखेपछि ब्यापारीहरुसँग पनि नभएको पाइयो ।
जे होस् । अभावमा अराजकता र हातभन्दा बाहिरको परिस्थिति हुनु अगाडि धैर्यता राखौं र दबाब बढाऔं ।
राज्य पूनर्सचना आयोगबाट २ वटा सुझाव आयो । विभाजित भएर आए पनि काम त फत्ते भयो । अब सविंधान लेखनको काम एक कदम अगाडि बढेको छ । मतभिन्नताका बीच पनि सहमति खोज्नुको बिकल्प हामीसँग छैन ।
नेपालीसँग छैन त धेरै चिज नै...धारामा सफा पानी अनि राति बत्ति पनि । तैपनि धेरै धैर्यता बोकेका हामी नेपाली ८ घण्टा बत्ति गएर आउँदा हुन सम्म कै खुसी हुन्छौ, एउटा युद्ध नै जिते सरि । अघि अध्याँरामा बस्दा सरापेको सबैको भलो नै होस् भन्ने सोच्छौं । एक गाग्री पानीका लागि कोशौं जानु त नित्य नै हो भन्ने ठान्छौं मानौं यो त अप्ठ्यारो केही नभई दैनिकीको अभिन्न अङ्ग । र कोशौं पर पुगेर पानी भरेर घर फिर्दा फेरि अटाइनसक्नुको खुसी....
यो मेरो ब्लग कुनै समाचार वा तथ्य वा आकंडामा आधारित विश्लेषणका लागि होइन । नितान्त बैयक्तिक यस ब्लग म ती साना साना कुरामा हाँस्न सक्ने हाम्रा नेपाली दाजुभाई अनि दिदिबहिनीका लागि समरपण गर्न चाहन्छु् ।